प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान काभ्रेपलाञ्चोकस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्। उनी राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै मन्दिर पुगेका हुन्।
पलाञ्चोक भगवतीको नित्य पूजाका समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरेर फर्किएको पाँचखाल–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिएका छन्।
प्रधानमन्त्रीको भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई पूर्वजानकारी नगराइएको बताइएको छ। स्रोतका अनुसार प्रधानमन्त्रीसँगै रहेका सुरक्षाकर्मीसमेत सादा पोसाकमा थिए।
नवरात्र सुरु भएसँगै पलाञ्चोक भगवती मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गर्छ। नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने यस मन्दिरमा विशेषगरी नवरात्रका अवसरमा उल्लेख्य सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन्।
मन्दिरमा प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहँदै आएको छ। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पलाञ्चोक भगवती मन्दिरमा प्रधानमन्त्री शाहले पनि दर्शन गरेका हुन्।






