मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

फ्र्यांकफर्टबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको विमानमा ‘हाइज्याक अलर्ट’, जयपुरमा अवतरण

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
77
0
फ्र्यांकफर्टबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको विमानमा ‘हाइज्याक अलर्ट’, जयपुरमा अवतरण
सारांश

काठमाडौं । जर्मनीको फ्र्यांकफर्टबाट भारतको दिल्लीका लागि उडेको एयर इन्डियाको विमान अपहरणको संकेत दिने ट्रान्सपोन्डर कोड ‘७५००’ प्रसारण भएपछि...

काठमाडौं । जर्मनीको फ्र्यांकफर्टबाट भारतको दिल्लीका लागि उडेको एयर इन्डियाको विमान अपहरणको संकेत दिने ट्रान्सपोन्डर कोड ‘७५००’ प्रसारण भएपछि जयपुरतर्फ डाइभर्ट गरिएको छ।

बुधबार (अक्टोबर १४) उडान नम्बर एआई २०३० को बोइङ ७८७–९ विमानमा २९३ यात्रु र चालक दलका १३ सदस्य सवार थिए। दिल्ली अवतरण गर्न लाग्दा सुरक्षा सतर्कताका कारण विमानलाई जयपुरमा अवतरण गराइएको हो।

जयपुर विमानस्थलमा अवतरणपछि यात्रुहरूलाई करिब दुई घण्टासम्म विमानभित्रै राखिएको थियो। त्यसपछि उनीहरूलाई बाहिर निकालेर राहदानी, यात्रु र दर्ता गरिएका सामानको सुरक्षा जाँच गरिएको थियो।

विमानबाट प्रसारण भएको ‘७५००’ कोड विमान अपहरण वा गैरकानुनी हस्तक्षेपसँग सम्बन्धित छ। तर, यस घटनामा विमान अपहरण भएको पुष्टि भएको छैन। प्रारम्भिक अनुमानअनुसार प्राविधिक गडबडीका कारण उक्त संकेत प्रसारण भएको हुन सक्ने बताइएको छ।

एयर इन्डियाका अनुसार आवश्यक सुरक्षा जाँचपछि विमान र चालक दललाई सुरक्षित ठहर गरिएको थियो। त्यसपछि विमान पुनः दिल्लीका लागि उडेको र बुधबार दिउँसो करिब ३ः१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

घटनाको वास्तविक कारण पत्ता लगाउन भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले अनुसन्धान गर्ने जनाइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार