काठमाडौं, २० माघ - नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच तालमेलको सम्भावना नरहेको बताएका छन्।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले २३–२४ भदौका घटनापछि एमाले र नेकपाको राजनीतिक दृष्टिकोण फरक रहेको बताउँदै, तत्काल कुनै तालमेल हुने सम्भावना आफूले देख्दिन भने। उनले भने, “तालमेलको गीत गाइरहने कुरा हो, तर अहिले तत्काल यसो तालमेलको भइहाल्ला भन्ने सम्भावना म देख्दिनँ। राजनीति भनेको असम्भव-सम्भवको खेल पनि हो। तर अहिलेको परिस्थिति हेर्दा एमाले र नेकपाबीच दूरी धेरै देखिन्छ।”
उनले नेकपाले भदौ २३–२४ का घटनालाई प्रतिगमन नभएको भन्दै आफ्नो पार्टीसँग दृष्टिकोण फरक राखेको पनि बताए। यसै कारण उनले कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरे जस्तै एमाले पनि स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रने बताएका छन्।
गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसको प्रतिबद्धता नेकपासँग तुलना गर्न नसकिने बताए। तथापि, अराजकता, अस्थिरता र प्रतिगमन रोक्न केही स्थानमा सानातिना सहकार्य सम्भव हुन सक्ने उनले उल्लेख गरे।
उनले केही पार्टी र व्यक्तिले आफूलाई पुरानो र अरूलाई नयाँ भनेर आरोप लगाउने चलनको खण्डन गर्दै भने, “कसैले आरोप लगाउँदैमा लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने।” उनले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरे।





