मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ

पाटनमा दशमहाविद्या परिक्रमा तथा पूजा सम्पन्न ।

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २२
7
0
पाटनमा दशमहाविद्या परिक्रमा तथा पूजा सम्पन्न ।
सारांश
चक्रिय प्रणालीअनुसार १० टोलमा रहेका दशमहाविद्या देवीको पूजा , बलुखा टोलस्थित माता भैरवीबाट सुरु भएको यात्रा सम्पन्न ललितपुर । पाटनमा हरेक वर्ष हुँदै आ...

चक्रिय प्रणालीअनुसार १० टोलमा रहेका दशमहाविद्या देवीको पूजा, बलुखा टोलस्थित माता भैरवीबाट सुरु भएको यात्रा सम्पन्न


ललितपुर । पाटनमा हरेक वर्ष हुँदै आएको श्री दशमहाविद्या परिक्रमा तथा पूजा यस वर्ष असोज ३ गते सम्पन्न भएको छ । भाद्र शुक्ल अष्टमी अर्थात् काया अष्टमीका दिन हुँदै आएको यो परम्परागत पूजा यस वर्ष असोज ३ गते ललितपुरको बलुखा टोलमा विराजमान माता भैरवीबाट सुरु गरिएको थियो ।

दशमहाविद्या मन्दिर रहेका पाटनका १० टोलमा चक्रिय प्रणालीअनुसार प्रत्येक वर्ष पालो गर्दै परिक्रमा तथा पूजा गर्ने परम्परा रहँदै आएको छ । सोही परम्पराअनुसार यस वर्षको पूजा तथा परिक्रमा सम्पन्न गरिएको हो ।

पूजा दशमहाविद्या मन्दिर रहेको सम्बन्धित टोल समितिको आयोजना तथा श्री दशमहाविद्या परिक्रमा पूजा व्यवस्थापन केन्द्रीय समितिअन्तर्गत गरिएको थियो । परम्पराअनुसार विभिन्न टोलमा रहेका दशमहाविद्या देवीहरूको मन्दिरमा निर्धारित क्रमअनुसार पूजा तथा परिक्रमा गरिएको तन्त्र चर्चा परिवारका संयोजक सन्दीप सापकोटाले बताए ।

‘स्थानीय जुन ठाउँमा देवी हुनुहुन्छ, त्यहाँ चक्रिय प्रणालीअनुसार पूजा गर्ने तथा पालो दिने चलन भए पनि पूजा गर्ने स्थानमा भने देवीहरूको क्रमअनुसार नै पूजा गरिन्छ,’ उनले भने ।

उनका अनुसार पूजा संकल्प टोलका विशिष्ट व्यक्तिबाट गरिने तथा देवाकुल ब्राह्मण (राजोपाध्याय)बाट तान्त्रिक विधिअनुसार पूजा सम्पन्न गर्ने परम्परा रहेको छ ।


२०७२ सालदेखि चक्रिय प्रणाली

दशमहाविद्या पूजाको प्रचार–प्रसार तथा यसको धार्मिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्ने उद्देश्यले २०७२ सालदेखि पाटनका दश टोलका स्थानीय व्यक्तिहरूको अगुवाइमा समिति गठन गरी चक्रिय प्रणालीबाट पूजा सुरु गरिएको हो ।

डा. गजानन्द राजोपाध्याय, अशोक श्रेष्ठ, लक्ष्मीनारायण कपाली, माधव मुल्मी लगायतको अगुवाइमा समिति गठन गरी दशमहाविद्या परिक्रमा तथा पूजालाई व्यवस्थित रूपमा अघि बढाइएको थियो ।

२०७२ सालभन्दा अघि भने दशमहाविद्या पूजा पूर्णचण्डी (कमला)बाट मात्र गर्ने प्रचलन रहेको थियो । एकपटक बंगलामुखीबाट समेत पूजा गरिएको बताइएको छ ।


तान्त्रिक तथा सांस्कृतिक परम्पराको निरन्तरता

पाटनका विभिन्न टोलमा रहेका दशमहाविद्या देवीका मन्दिरलाई केन्द्रमा राखेर गरिने यो परिक्रमा तथा पूजा धार्मिक अनुष्ठानसँगै पाटनको मौलिक तान्त्रिक तथा सांस्कृतिक परम्परासँग समेत जोडिएको छ ।

स्थानीय बासिन्दा तथा श्रद्धालुहरूको सहभागितामा सम्पन्न भएको यस वर्षको यात्राले पाटनमा पुस्तौंदेखि चलिआएको दशमहाविद्या पूजा तथा परिक्रमा परम्परालाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।


साझा गर्नुहोस्: