काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा गत वर्ष भदौ २३ गते भएको घटनालाई देशको इतिहासकै पीडादायी घटनाका रूपमा स्मरण गरेकी छन्।
कार्कीले राष्ट्रको जीवनमा लागेको उक्त घाउ सायदै कहिल्यै पुरिने उल्लेख गर्दै अब त्यस्तो दिन दोहोरिन नदिन सबैले आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्नुपर्ने बताएकी छन्।
उनले सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सरकार तथा राजनीतिक नेतृत्व जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन्।
कार्कीका अनुसार जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ– संसद्को दुई तिहाइ बहुमतले मात्र स्थिरता सुनिश्चित गर्न सक्दैन। राजनीतिक स्थायित्व संसदीय गणितभन्दा शासकको चरित्र र कार्यशैलीमा निर्भर हुने उनको भनाइ छ।
उनले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विधिको शासन स्थापित गर्न र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने अपेक्षा व्यक्त गरेकी छन्।





