२९ असोज, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो प्रेस संयोजकमा बरिष्ठ पत्रकार राम रावललाई नियुक्त गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयले आइतबार रावलको नियुक्ति भएको औपचारिक जानकारी दिएको हो।
पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव संगालेका रावलले दृष्टि साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थिए। उनले कान्तिपुर टेलिभिजन र ग्यालेक्सी टेलिभिजन हुँदै पछिल्लो समय नेपालखबर अनलाइनमा सम्पादकको भूमिकामा काम गरेका थिए।
शिक्षा क्षेत्रमा पनि रावलले सशक्त पृष्ठभूमि तयार गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन् भने कानुन विषयमा स्नातक गरेका छन्।
प्रेस संयोजकको रूपमा रावलले प्रधानमन्त्री र सरकारको सूचना सम्प्रेषणमा प्रमुख भूमिका निर्वाह गर्नेछन्। उनको नियुक्तिलाई सत्ताको सञ्चार सुदृढीकरणतर्फ एक कदमको रूपमा हेरिएको छ।





