मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रधानमन्त्री बालेन शाहसँग श्रम संस्कृति पार्टीले माग्यो सात प्रश्नको जवाफ

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २८
5
0
प्रधानमन्त्री बालेन शाहसँग श्रम संस्कृति पार्टीले माग्यो सात प्रश्नको जवाफ
सारांश
काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहसँग विभिन्न समसामयिक विषयमा सात प्रश्नको जवाफ मागेको छ । सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलग...

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहसँग विभिन्न समसामयिक विषयमा सात प्रश्नको जवाफ मागेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै पार्टीका सांसद ध्रुवराज राईले सभामुखसँग समय लिएर प्रधानमन्त्री स्वयंले यी प्रश्नको जवाफ दिनुपर्ने बताएका हुन् ।

राईले लामो समयदेखि संसद्ले प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै प्रधानमन्त्री कहिले संसद्मा आएर जवाफ दिने हुन् भनेर प्रश्न गरे । उनले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले गरिरहेको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कामबारे पनि स्पष्ट जवाफ मागे ।

पछिल्लो समय बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिबारे सरकारको तयारी र कार्यशैलीबारे पनि उनले प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।

त्यसैगरी राजनीतिक विश्लेषक तथा लेखक भरत दाहालको पक्राउबारे पनि राईले प्रश्न उठाए । सर्वोच्च अदालतले दाहाल पक्राउको लिखित कारण पेस गर्न आदेश दिएको विषय उल्लेख गर्दै सरकारले यसबारे स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि छाडेको घटनाबारे पनि उनले प्रश्न गरे । जबरालाई कुन कसुर वा आधारमा नियन्त्रणमा लिइएको हो भन्ने विषय स्पष्ट नभएको भन्दै राईले सरकारसँग जवाफ मागे ।

नागरिकमा बढ्दै गएको निराशा र पछिल्ला आत्मदाहका घटनालाई पनि उनले संसद्मा उठाए । नियमनकारी निकाय तथा सुरक्षाकर्मीसँगको विवादपछि त्रिपुरेश्वर क्षेत्रमा भएका घटनाको प्रसंग उल्लेख गर्दै उनले नागरिक र राज्यबीचको सम्बन्धबारे सरकार गम्भीर हुनुपर्ने बताए ।

राईले संसद्को भूमिका र गरिमाबारे पनि प्रश्न उठाएका छन् । संसद्प्रति नै नागरिकमा निराशा बढ्ने अवस्था किन आएको हो र संसद्को गरिमा बढाउन सरकारले के योजना बनाएको छ भन्ने विषयमा प्रधानमन्त्रीको जवाफ माग गरिएको उनले बताए ।

समग्रमा यी विषयमा प्रधानमन्त्री शाह स्वयं संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने श्रम संस्कृति पार्टीको माग छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार