काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने जुनसुकै त्याग गर्न आफू तयार रहेको बताएका छन्।
सभापति गगन थापासँग आज भएको भेटमा कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले पार्टी एकढिक्का हुनुको विकल्प नरहेको बताएका हुन्।
कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सबै त्याग गर्न तयार रहेको स्पष्ट पारेका छन्। जवाफमा सभापति थापाले पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका थिए।
भेटमा कांग्रेसभित्र देखिएका आन्तरिक समस्या समाधान, पार्टी एकता तथा बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल भएको थियो। रसुवा, नुवाकोट र धादिङमा बाढीपछि भइरहेको उद्धार तथा राहत अवस्थाबारे पनि दुई नेताबीच कुराकानी भएको जनाइएको छ।
पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्दै कांग्रेसलाई एकढिक्का बनाउने विषयमा शीर्ष नेताबीच संवाद जारी रहेको छ।





