नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले राजनीतिक आलोचना स्वीकार गर्ने तर अपुष्ट आरोप र चरित्रहत्या स्वीकार नगर्ने बताएका छन्। सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले सार्वजनिक जीवनमा रहेकाले प्रश्न र आलोचना सुन्नुपर्ने बताए।
ओलीले आलोचना र चरित्रहत्या फरक विषय भएको उल्लेख गर्दै तथ्यको खोजी नगरी आरोपलाई नारा बनाउने तथा अपुष्ट कुरालाई प्रमाणजस्तो प्रस्तुत गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
उनले आफूमाथि उमेर, स्वास्थ्य, बोली, राष्ट्रियताको अडान, संविधानप्रतिको दृष्टिकोण र नेतृत्वशैलीलाई लिएर विभिन्न टिप्पणी हुने गरेको उल्लेख गर्दै यस्ता विषयलाई नीतिगत तथा राजनीतिक बहसभन्दा व्यक्तिगत आक्रमणका रूपमा चित्रण गरेका छन्।
ओलीका अनुसार राजनीतिक आलोचना नीति, शैली र निर्णयमा केन्द्रित हुनुपर्ने हुन्छ। उनले छानबिनको माग स्वीकार्य भए पनि छानबिनअघि नै आरोपलाई निष्कर्ष वा फैसलाका रूपमा प्रस्तुत गर्न नहुने बताएका छन्।
उनले पार्टीभित्र र बाहिर उठेका सार्वजनिक आरोपको तथ्यगत रूपमा परीक्षण गर्ने प्रणाली बनाउनुपर्नेमा जोड दिएका छन्। कुन आरोपमा के तथ्य छ, कुन निर्णय कहिले भयो, सम्बन्धित निकायको जिम्मेवारी के थियो र छानबिनको अवस्था कहाँ पुगेको छ भन्ने विषय जनतासामु स्पष्ट रूपमा राख्नुपर्ने उनको भनाइ छ।
साथै, पार्टीमा वास्तविक कमजोरी देखिए त्यसलाई लुकाउन नहुने र आवश्यक सुधार गर्नुपर्ने ओलीले बताएका छन्। उनले आत्मसमीक्षाको आवश्यकता स्वीकार गर्दै आफू छानबिनबाट नभाग्ने तर अपुष्ट आरोपलाई अन्तिम सत्यका रूपमा स्वीकार नगर्ने धारणा राखेका छन्।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा ओलीको राजनीतिक प्रतिवेदनसँगै निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि पनि छलफल हुँदैछ। बैठकमा पार्टी पुनर्निर्माण, निर्वाचन परिणाम, नीति तथा नेतृत्व पुनर्गठनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ।





