सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भएका बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले बुधबार राति सर्लाहीको बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको घरबाट पक्राउ गरेको हो।
सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार थापा घरमा आएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्दा उनको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा उनीविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
थापा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका थिए। त्यसपछि उनी नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको प्रहरीको भनाइ छ। भेष बदलेर बस्ने र आवश्यक पर्दा अरूको मोबाइल प्रयोग गरी सम्पर्क गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो।
न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएका थापा यसअघि पनि लामो खोजीपछि पक्राउ परेका थिए। प्रहरीले दुई वर्ष सात महिनासम्म निगरानी र खोजी गरेपछि २०७१ सालमा उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो। उनी चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष थिए र जन्मकैदको सजाय भुक्तान गरिरहेका थिए।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो। बंगलामुखी मन्दिरमा दर्शन गरेर फर्कने क्रममा उनको गाडी रोकेर गोली प्रहार गरिएको थियो।
प्रहरी अनुसन्धानअनुसार चुरेभावर राष्ट्रिय पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको एक अन्तरिम आदेश हत्याको पृष्ठभूमिसँग जोडिएका थिए। पार्टीको नेतृत्वसम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि न्यायाधीश बमको एकल इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। अनुसन्धानकर्ताहरूले सोही विवादलाई हत्याको प्रमुख कारणमध्ये एकका रूपमा व्याख्या गरेका थिए।






