चितवन — नारायणी नदीको जलसतह खतराको तहभन्दा धेरै माथि पुगेपछि चितवन र नवलपरासीका तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणीको जलसतह करिब ११ मिटर पुगेको छ र अझै बढिरहेको छ। आज दिउँसोसम्म जलसतह १३ मिटर पुग्न सक्ने अनुमान गरिएको छ।
नारायणीका प्रमुख सहायक नदी कालीगण्डकीमा पनि पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ। सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा समेत बहाव सतर्कता तहभन्दा माथि पुगेको महाशाखाले जनाएको छ।
महाशाखाले चितवन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरेको छ।
नदी किनार, पुल र तटबन्ध क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा बाढी हेर्न वा फोटो–भिडियो खिच्न नजान पनि आग्रह गरिएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायका सूचना पालना गर्न महाशाखाले अनुरोध गरेको छ।





