नेपाल–चीन सीमाक्षेत्रमा पहिरोले नदी थुनिएपछि बनेको ताल करिब १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।
चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनका अनुसार यो ताल करिब १४ वटा मानक फुटबल मैदान बराबरको क्षेत्रफलमा फैलिएको छ। अगस्ट २९ सम्म गरिएको अनुगमनमा ताल हाल नियन्त्रणमा रहेको पाइएको जनाइएको छ।
पहिरोका कारण बनेको यो तालको अवस्था चिनियाँ पक्षले निरन्तर निगरानी गरिरहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै पानीको बहाव र तालको अवस्थाबारे अध्ययन भइरहेको बताइएको छ।
यसैबीच, ताल–२ नाम दिइएको अर्को बाँध तालसमेत पहिचान गरिएको छ। यो पहिलो तालभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको जनाइएको छ।
भदौ १० गते आएको भीषण बाढीपछि नेपाल–चीन सीमाक्षेत्रमा थप जोखिमबारे चिनियाँ पक्षले निरन्तर अध्ययन तथा अनुगमन गरिरहेको छ।





