काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक, आधुनिक तथा नागरिकमैत्री सङ्गठनका रूपमा विकास गर्न कानुनी र संरचनागत सुधारको तयारी भइरहेको बताएका छन्। प्रहरी सङ्गठनको सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले नयाँ प्रहरी विधेयकमा काम अघि बढाएको उनले जानकारी दिएका छन्।
एकहत्तरौँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न सेवा–सुविधा वृद्धि, सरुवा–बढुवाको व्यवस्थापन तथा प्रहरी कार्यालयहरूको डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखिएको बताए।
“प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ। आवास, स्वास्थ्यलगायतका सेवा–सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ,” उनले भने।
उनका अनुसार प्रहरीका सबै कार्यालयलाई डिजिटल प्रणालीमा आबद्ध गर्ने तथा सङ्गठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने काम अघि बढिरहेको छ। अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धि गर्नुका साथै उनीहरूको अनुभव, ज्ञान र सीपलाई राष्ट्रहितमा उपयोग गर्ने योजना पनि सरकारले अघि सार्ने उनले बताए।
सीमापार अपराध नियन्त्रणमा प्रविधि र सहकार्यमा जोड
गृहमन्त्री गुरुङले अपराधको स्वरूप सीमाविहीन बन्दै गएकाले अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धान गर्न सक्ने सक्षम निकायका रूपमा नेपाल प्रहरीलाई स्थापित गर्न आवश्यक रहेको बताए। त्यसका लागि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठक तथा भारतीय समकक्षीसँग भएको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिको प्रयोगमार्फत सहकार्य विस्तार गर्ने विषयमा जोड दिएको उनले जानकारी दिए।
“क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्छ,” उनले भने।
उनले राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै सूचनाको सुरक्षा र गोपनीयता कायम राख्न प्रहरी अधिकारीहरूलाई जिम्मेवार बन्न निर्देशन दिए।
एआई र डिजिटल फोरेन्सिकमा क्षमता अभिवृद्धि गरिने
बदलिँदो अपराधको प्रकृति र प्रविधिको विकासलाई ध्यानमा राख्दै नेपाल प्रहरीले अनुसन्धानको आधुनिक विधि तथा प्रविधिमा आफ्नो क्षमता बढाउनुपर्ने गृहमन्त्री गुरुङको भनाइ छ।
उनले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल फोरेन्सिक, साइबर अपराध तथा वित्तीय अपराध अनुसन्धान, डीएनए फोरेन्सिक र डीएनए प्रोफाइलिङजस्ता क्षेत्रमा दक्षता अभिवृद्धि गर्न निर्देशन दिए। आधुनिक प्रविधिको उपयोगबाट अपराध अनुसन्धानलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
प्रहरीलाई नागरिकको भरोसाको प्रतीक बनाउन आग्रह
गृहमन्त्री गुरुङले प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बन्नुपर्ने बताए। प्रहरीको व्यवहार, निष्पक्ष अनुसन्धान र विपद्का समयमा गरिने उद्धारले राज्यप्रतिको नागरिकको विश्वास निर्धारण गर्ने उनको भनाइ थियो।
“नयाँ पुस्ताले सोधेको छ– राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन? मेरो भविष्य मेरो देश, मेरो मातृभूमिमै उज्ज्वल बन्छ कि बन्दैन? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान तथा विपद्का समयमा गरिने उद्धारले समेत निर्धारण गर्नेछ,” उनले भने।
उनले प्रहरीको आचरण र कार्यशैली नागरिकमैत्री बनाउन निर्देशन दिँदै गुनासो तथा जाहेरी दर्तादेखि अनुसन्धानका हरेक चरणमा नागरिकलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे। अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा पनि उनले जोड दिए।
प्रहरीको दरबन्दी र पूर्वाधार विस्तार प्राथमिकतामा
गृहमन्त्री गुरुङले विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता तथा खाजा खर्चको व्यवस्था भइसकेको जानकारी दिए। नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत थप दरबन्दी सिर्जना गर्न प्रस्ताव गरिएको पनि उनले बताए।
नेपाल प्रहरीका लागि आवश्यक पूर्वाधार निर्माण र आधुनिक प्रविधिमा लगानी गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै उनले नयाँ सरकार नयाँ जोश, जाँगर र मानसिकताका साथ जनताको सेवामा जुटेको बताए।
“नागरिकले राज्यसँग राखेको अपेक्षा पूरा गर्न सरकारको गति र भावनाअनुसार तपाईंहरूले समेत व्यावहारिक र व्यावसायिक रूपमा आफूलाई रूपान्तरण गर्दै जान जरुरी छ। अबका दिनमा गुनासो तथा जाहेरी दर्तादेखि अनुसन्धानको क्रममा नागरिकलाई केन्द्रमा राखी कार्यसम्पादन गर्नुहोला,” उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।
विपद्मा प्रहरीको साहसको प्रशंसा
कार्यक्रममा गृहमन्त्री गुरुङले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सम्पूर्ण अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदानको स्मरण गरे।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी तथा त्यसपछि मनाङ, मुस्ताङ र बूढीगण्डकी क्षेत्रमा भएका बाढीजन्य विपद्का घटनामा सहकर्मीले ज्यान गुमाउँदा पनि प्रहरी टोलीले देखाएको साहस र समर्पणको उनले प्रशंसा गरे।
“आफ्नै सहकर्मीले ज्यान गुमाउँदा पनि अविचलित रही उद्धारमा खटिएर प्रहरीले देखाएको साहसको मैले उच्च मूल्याङ्कन गरेको छु,” उनले भने।
गृहमन्त्री गुरुङले प्रहरी सङ्गठनलाई थप सक्षम, प्रविधिमैत्री, उत्तरदायी र जनविश्वासमा आधारित बनाउँदै नागरिकको सुरक्षा तथा सेवामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।






