मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २८
5
0
मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध
सारांश
गएको चार दिनदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र सडक भासिने समस्या बढ्दा देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रह...

गएको चार दिनदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र सडक भासिने समस्या बढ्दा देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका छन्।

रसुवाको पासाङ ल्हामु राजमार्ग त्रिशूली नदीको कटानका कारण पूर्ण रूपमा अवरुद्ध छ। काठमाडौं–स्याफ्रुबेँसी आवागमनका लागि टोखा–छहरे–विदुर हुँदै धुञ्चे–स्याफ्रुबेँसी पुग्ने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ।

पृथ्वीराजमार्गको कृष्णभीर क्षेत्रमा ठूलो पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ भने धादिङको बेनिघाट रोराङ–१० स्थित पानीधारामा सडक पूर्ण रूपमा अवरुद्ध छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण अर्को सूचना नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीबेँसीमा पहिरोका कारण सडक अवरुद्ध छ। धुलिखेल–८ पकुचामा पहिरो खसेपछि अरनिको राजमार्गसमेत प्रभावित भएको छ।

गण्डकी प्रदेशमा बेँसीसहर–खाङसार सडकमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म आवागमन रोकिएको छ भने चामे–बेँसीसहर सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।

बागलुङको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग, कालिकोटको कर्णाली राजमार्ग, गुल्मीका विभिन्न सडकखण्ड पनि पहिरो र लेदोका कारण प्रभावित भएका छन्।

त्यस्तै, म्याग्दीको बेनी–जोमसोम, मुस्ताङको जोमसोम–कोरला, हुम्लाको कर्णाली करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, पाल्पाको सिद्धार्थ राजमार्ग, ललितपुरको कान्तिलोकपथ, लमजुङको बेँसीसहर–मनाङ सडक, तनहुँको पृथ्वीराजमार्ग तथा पर्वतको मालढुङ्गा–बेनी सडकखण्डमा पनि यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।

जोखिमयुक्त सडकमा रातिको आवागमन रोक्नुका साथै कतिपय सडकमा पूर्ण रूपमा यातायात बन्द गरिएको छ। प्रहरीले अत्यावश्यक नभएसम्म जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी सूचनाअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार