काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदीलाई विस्फोट गरेर खोल्ने तयारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार जिल्ला दैवी प्रकोप उद्धार समितिले नदी खोल्न ब्लास्ट गर्ने निर्णय गरेको हो ।
यसका लागि नेपाली सेनाको विस्फोटक पदार्थसम्बन्धी प्राविधिक टोलीलाई अनुरोध गर्ने निर्णय भएको छ । काठमाडौंस्थित सेनाको टोली चामे पुगेर थुनिएको नदीलाई विस्फोट गरी आजै खोल्ने तयारी गरिएको पौडेलले बताएका छन् ।
विस्फोटका लागि आवश्यक पदार्थ मनाङकै स्थानीय तहसँग रहेको प्रशासनले जनाएको छ ।
आइतबार ठाडो खोला र घट्टे खोलामा आएको बाढीले कटान गर्नुका साथै घर, पुल र सडकमा क्षति पुर्याएको थियो । त्यसै दिन साँझ घट्टे खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी थुनिएको थियो ।
नदी थुनिएपछि जोखिम बढेको भन्दै स्थानीयवासीले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका थिए । मौसम खुलेपछि भने चामेवासी सोमबार बिहान घर फर्किएका छन्।





