कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीको बाढीले भत्काएको छ।
आज बिहान करिब ८ बजे पुलको एक टावर भाँचिएपछि पुलको एक भाग नदीमा बगेको प्रत्यक्षदर्शीले बताएका छन्।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो। पुलको बीच भागमा क्षति पुगेपछि दुई क्षेत्रबीचको आवतजावत बन्द भएको छ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार क्षतिको अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको छ। विस्तृत प्राविधिक अध्ययनपछि मात्रै क्षतिको वास्तविक अवस्था यकिन हुने उनले बताए।
स्थानीयका अनुसार बिहान ४–५ बजेतिर नै पुलको एक भाग अस्वाभाविक रूपमा माथि उठेको देखिएको थियो। त्यसबारे प्रहरीलाई जानकारी गराइएको केही समयपछि करिब ८ बजे उक्त भाग नदीमा खसेको बताइएको छ।
२०६१ सालमा निर्माण सम्पन्न भएको उक्त पुलमा क्षति पुगेपछि अब स्थानीयले करिब दुई किलोमिटर माथि रहेको पक्की पुल प्रयोग गरेर आवतजावत गर्नुपर्ने भएको छ।





