नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।
महिलालाई ज्यान मार्ने र रगत पिउनेलगायत धम्की दिएको भनिएका अडियो सार्वजनिक भएपछि आचार्यले रास्वपाको आन्तरिक छानबिन मात्रै पर्याप्त नहुने बताएका हुन्। उनले सरकार तथा सम्बन्धित राज्यका निकायले समेत घटनाको स्वतन्त्र अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्।
आचार्यले शोषित, पीडित र दलित समुदायको न्यायका लागि बोल्ने व्यक्तिमाथि नै महिलालाई धम्की दिएको आरोप लाग्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्। उनका अनुसार दलित अधिकारको संरक्षण र महिलाको सम्मान दुवै न्यायका आधार हुन्।
उनले सत्ता, पद र राजनीतिक पहुँचका आधारमा कसैले पनि कानुनभन्दा माथि रहने छुट पाउन नहुने बताएका छन्। आरोप प्रमाणित भएमा पद र पार्टी नहेरी कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ छ।
आचार्यले आरोपको निष्पक्ष छानबिनसँगै पीडित भनिएकी महिलाको सुरक्षा सुनिश्चित गर्नसमेत माग गरेका छन्। यता, अडियो सार्वजनिक भएपछि रास्वपाले घटनाबारे छानबिन गर्ने जनाएको छ।





