धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ।
शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका–७ मा कृष्णभिरभन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेको धादिङ प्रहरीले जनाएको छ। पहिरोका कारण राजमार्गमा यातायात एकतर्फी सञ्चालन भइरहेको छ।
यसैगरी बेनीघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको छ। उक्त क्षेत्रमा अहिले पनि वर्षा भइरहेको प्रहरीले जनाएको छ।
गत भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग १८ दिन अवरुद्ध भएको थियो।
सडकमा नयाँ ट्र्याक निर्माण गरेर असोज १ गतेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो। पुनः पहिरो खसेपछि यातायात सञ्चालनमा समस्या देखिएको हो।





