मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा पहिरोका कारण हुने आवागमन अवरोध कम गर्न वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइएको छ।
चितवनको फिस्लिङदेखि धादिङको बेनीघाट जोड्ने गरी गोरखातर्फबाट नयाँ ट्र्याक खोल्ने र सडक स्तरोन्नति गर्ने काम भइरहेको छ। फिस्लिङपारि गोरखाको पल्लोटारदेखि सिउरेनीटार हुँदै धादिङको बेनीघाट निस्कने सडकलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको हो।
कुल १९ किलोमिटर लामो उक्त सडकखण्डमा १.२ किलोमिटर नयाँ ट्र्याक खोलिनेछ भने बाँकी सडकको स्तरोन्नति गरिनेछ।
कृष्णभीरमा पहिरो खस्ने समय निश्चित नहुँदा जुनसुकै बेला आवागमन बन्द हुन सक्ने जोखिम छ। यही समस्यालाई ध्यानमा राख्दै वैकल्पिक सडक निर्माणको काम अघि बढाइएको हो।

















