मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कम्बोडियामा फसेका ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार, अवैध स्क्यामिङमा संलग्नलाई कडा सजायको चेतावनी

स
समाचार कक्ष
२०२६ मे ६
6
0
कम्बोडियामा फसेका ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार, अवैध स्क्यामिङमा संलग्नलाई कडा सजायको चेतावनी
सारांश
काठमाडौं, २३ वैशाख । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका तथा स्वदेश फर्कन इच्छुक ६३ जना नेपालीका लागि एकतर्फी यात्रा ...

काठमाडौं, २३ वैशाख । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका तथा स्वदेश फर्कन इच्छुक ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी पठाइसकेको जनाएको छ।

दूतावासका अनुसार, अनलाइन फाराममार्फत विवरण उपलब्ध गराएका नेपालीहरूका लागि उक्त ट्राभल डकुमेन्ट सोमबार साँझसम्म तयार गरिएको हो। साथै, बुधबार बेलुकासम्म फाराम भर्नेहरूका लागि आवश्यक कागजात भोलि पठाइने जानकारी दिँदै दूतावासले बाँकी रहेकालाई तुरुन्तै आफ्नो विवरण बुझाउन आग्रह गरेको छ।

यसअघि पनि दूतावासले चैत ३० र वैशाख १ गते गरी ४६ जना नेपालीको उद्धार गरी नेपाल फर्काइसकेको थियो। उनीहरूलाई उच्च आम्दानीको प्रलोभनमा कम्बोडिया पुर्‍याई अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा संलग्न गराइएको थियो।

दूतावासले अन्य अलपत्र नेपालीहरूको उद्धार प्रक्रिया पनि जारी रहेको जनाएको छ।

यसैबीच, कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ नियन्त्रण गर्न कडा कानुन लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कारावाससम्म सजाय हुन सक्ने प्रावधान छ। साथै, त्यस्ता अवैध केन्द्रहरू बन्द गर्ने तथा संलग्न व्यक्तिलाई पक्राउ गर्ने अभियान तीव्र पारिएको छ।

राजदूतावासले विशेष सूचना जारी गर्दै पर्यटकीय भिसामा रोजगारीका लागि कम्बोडिया नजान, भिसाको म्याद नाघेर नबस्न र कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। यदि कसैले यस्ता गतिविधिमा संलग्न भएको छ भने तुरुन्त बन्द गरी नेपाल फर्किन समेत अनुरोध गरिएको छ।

विदेश जानुअघि श्रम स्वीकृति लिएर मात्र जान र रोजगारदाता तथा कामको आधिकारिकता सुनिश्चित गर्न दूतावासले सचेत गराएको छ।

त्यस्तै, आफूलाई कम्बोडिया पुर्‍याउने व्यक्तिविरुद्ध नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन पनि आग्रह गरिएको छ। साथै, आफ्ना आफन्त वा साथीभाइ अप्ठ्यारोमा परेका भए सम्बन्धित निकायमा जानकारी गराउन समेत अनुरोध गरिएको छ।

पछिल्ला वर्षहरूमा भ्रमण भिसामा कम्बोडिया जाने नेपालीहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको तथ्यांकले देखाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार