नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया शनिबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ। महाधिवेशन तालिकाअनुसार असोज ३ र ४ गते देशभरका वडामा अधिवेशन हुने भएको छ।
वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। त्यसपछि क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचित गर्नेछन्।
महाधिवेशन प्रक्रियाअन्तर्गत वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्म नेतृत्व चयन हुनेछ। अर्थात् वडादेखि केन्द्रसम्म कांग्रेसका विभिन्न तहमा नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
केन्द्रीय निर्वाचन समितिले विभिन्न तहका उम्मेदवारका लागि उम्मेदवारी शुल्कसमेत निर्धारण गरेको छ। निर्देशिकाअनुसार शुल्क न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम ४० हजार रुपैयाँसम्म तोकिएको छ।
केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्नेछ। सभापतिका लागि महाधिवेशन प्रतिनिधिमध्ये १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्नेछ। केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ।
प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा प्रदेश सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।
जिल्ला सभापतिका लागि १५ हजार, उपसभापति तथा सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्रतिनिधिसभा क्षेत्रीय सभापतिका लागि १० हजार, उपसभापति तथा सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार र सदस्यका लागि २ हजार रुपैयाँ शुल्क लाग्नेछ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ७ हजार र महासमिति सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। प्रदेशसभा क्षेत्रीय सभापतिका लागि ७ हजार, उपसभापति तथा सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार र सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ।
महानगर तथा उपमहानगर सभापतिका लागि ७ हजार, उपसभापति तथा सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार र सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ। नगरपालिका सभापतिका लागि ५ हजार, उपसभापति तथा सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
गाउँपालिका सभापतिका लागि ५ हजार, उपसभापति तथा सचिवका लागि २ हजार, सहसचिवका लागि १ हजार ५ सय र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ। वडा सभापतिका लागि १ हजार, उपसभापति, सचिव तथा सहसचिवका लागि ७ सय र सदस्यका लागि ५ सय रुपैयाँ शुल्क लाग्नेछ। क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्न पनि ५ सय रुपैयाँ शुल्क तोकिएको छ।
निर्वाचन समितिका अनुसार उम्मेदवारी शुल्क दर्ता स्थलमा नगद, बैंक वा क्यूआरमार्फत बुझाउन सकिनेछ। महाधिवेशनको सुरुवाती चरणमै वडास्तरबाट नेतृत्व तथा प्रतिनिधि चयन प्रक्रिया अघि बढेपछि क्रमशः पालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय नेतृत्व चयनको बाटो खुल्नेछ।





