नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विधानमै व्यवस्था गरेर सिर्जना गरिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध चयन भएका छन्। यसअघि उपसभापति रहेका शर्मा सभापति गगन थापाका निकट सहयात्रीका रूपमा चिनिन्छन्। नयाँ विधानले उनलाई पार्टीको मर्यादाक्रममा सभापतिपछिको स्थान मात्र दिएको छैन, विभिन्न महत्त्वपूर्ण जिम्मेवारीसमेत सुम्पिएको छ।
नयाँ विधानअनुसार सभापति अनुपस्थित हुँदा वरिष्ठ उपसभापति स्वतः कार्यवाहक सभापति बन्नेछन्। यसअघि उपसभापतिमध्ये कसलाई कार्यवाहक बनाउने भन्ने निर्णय सभापतिले गर्ने व्यवस्था थियो। अब भने यसका लागि सभापतिले छुट्टै निर्णय गर्नुपर्ने छैन।
त्यस्तै, केन्द्रीय समिति, महासमिति वा पदाधिकारी बैठक नबसेको अवस्थामा पार्टीमा आइपर्ने आकस्मिक कामकारबाही अघि बढाउने अधिकार पनि वरिष्ठ उपसभापतिलाई दिइएको छ। यसले पार्टी सञ्चालनका क्रममा तत्काल निर्णय लिनुपर्ने परिस्थितिमा उनको भूमिकालाई थप महत्त्वपूर्ण बनाएको छ।
कांग्रेसको केन्द्रीय कार्यालयको समग्र संयोजन पनि वरिष्ठ उपसभापतिकै जिम्मेवारीमा रहनेछ। कार्यालयको दैनिक कार्यसञ्चालनका लागि भने सभापतिले महामन्त्रीहरूमध्येबाट एक जनालाई जिम्मेवारी तोक्ने व्यवस्था गरिएको छ। यसअघि केन्द्रीय कार्यालयको सञ्चालनमा महामन्त्रीहरूको प्रमुख भूमिका रहँदै आएको थियो।
यसैगरी, पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व पनि वरिष्ठ उपसभापतिले गर्नेछन्। यसअघि सभापतिले उपसभापतिमध्येबाट एक जनालाई प्रतिष्ठानको प्रमुख तोक्ने व्यवस्था थियो। नयाँ विधानले यो जिम्मेवारीलाई वरिष्ठ उपसभापति पदसँगै जोडेको छ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान मस्यौदा समितिले तयार पारेको र महाधिवेशनबाट पारित भएको विधानको मस्यौदा निर्वाचन आयोगमा पठाइएको छ। नयाँ व्यवस्थाले वरिष्ठ उपसभापतिको जिम्मेवारीलाई औपचारिक सम्मानमा मात्र सीमित नराखी पार्टी सञ्चालन, संगठनात्मक समन्वय र नेतृत्वसँग प्रत्यक्ष जोडेको देखिन्छ।
अब विश्वप्रकाश शर्माले यी अधिकारलाई व्यवहारमा कसरी प्रयोग गर्छन् र सभापति तथा अन्य पदाधिकारीसँग जिम्मेवारीको बाँडफाँट कसरी अघि बढ्छ भन्ने कुरा पार्टी सञ्चालनको अभ्यासबाट स्पष्ट हुनेछ।






