काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ। २३ असोज रातिदेखि सुरु भएको मतगणना सात दिनमा सकिएको हो। मतपरिणामअनुसार सभापति गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। जसमध्ये २३१ जना निर्वाचनबाट चयन हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ। विभिन्न समावेशी समूह तथा क्लस्टरका आधारमा केन्द्रीय सदस्यहरू निर्वाचित भएका हुन्। महाधिवेशन प्रतिनिधिहरूले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए।
नयाँ विधानअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यको सङ्ख्या बढाइनुका साथै समावेशितालाई प्राथमिकता दिइएको छ। कांग्रेसको इतिहासमा पहिलोपटक उपसभापति र महामन्त्री पदमा समेत समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको छ।
उपसभापतिमा वरिष्ठ, महिला र समावेशी गरी तीन तथा खुलातर्फ दुई पदको व्यवस्था गरिएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद चौधरी चयन भएका छन्।
महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन्। महिलातर्फ महामन्त्रीको व्यवस्था गरिएअनुसार डा. डिला संग्रौला निर्वाचित भएकी छन्।
विधानअनुसार १५ जना सहमहामन्त्री रहने व्यवस्था छ। त्यसमध्ये ११ जना विभिन्न समूहबाट निर्वाचित हुने र बाँकी चार जना सभापतिले मनोनीत गर्ने प्रावधान छ। निर्वाचित सहमहामन्त्रीहरूमा खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, खस–आर्यतर्फ मनोजमणि आचार्य, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली स्नेही र महिलातर्फ प्रतिमा गौतम रहेका छन्।
त्यसैगरी पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, मुस्लिमतर्फ डा. फिरदोस आलम, मधेसीतर्फ अजयकुमार चौरसिया, थारूतर्फ योगेन्द्र चौधरी तथा अल्पसंख्यक र अपांगता समूहबाट आङ्गेलु शेर्पा निर्वाचित भएका छन्।
मतपरिणामअनुसार सभापति थापाले कुल ७ हजार ३९ मतमध्ये ६ हजार ५८४ मत प्राप्त गरेका छन्। यो कुल खसेको मतको ९३.८८ प्रतिशत हो। उपसभापतिमध्ये चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गरेका छन् भने महामन्त्रीतर्फ प्रदीप पौडेलले ४ हजार १९४ मतसहित सबैभन्दा बढी मत पाएका छन्। सहमहामन्त्रीमध्ये प्रतिमा गौतमले ५ हजार ११६ मत प्राप्त गरेकी छन्।
खुलातर्फ निर्वाचित हुने ४५ जना केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। संशोधित विधानअनुसार ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य पनि निर्वाचित भएका छन्। त्यस्तै, पेसागत तथा विषयगत क्षेत्रबाट सात जना र जनसम्पर्क समितिबाट सात जना केन्द्रीय सदस्य चयन भएका छन्।
केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्रबाट दुई जना तथा अल्पसंख्यक, अपांगता, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारबाट एक–एक जना निर्वाचित भएका छन्। काठमाडौं उपत्यकाबाट पनि दुई जना केन्द्रीय सदस्य चयन भएका छन्।
मतगणना सम्पन्न भएसँगै कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अब बाँकी सदस्यको मनोनयन तथा कार्यसमितिको औपचारिक प्रक्रिया पूरा भएपछि नयाँ नेतृत्वले पार्टीको आगामी कार्यदिशा र सङ्गठनात्मक गतिविधिलाई अघि बढाउनेछ।






