मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
राजनीति

कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

meronepaltv
meronepaltv
1 दिन अगाडि
65
0
कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी
सारांश

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालल...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशतर्फ पहिलो मत खसालेका छन्।

निर्धारित समयभन्दा एक दिन ढिलो मतदान सुरु भएपछि बिहानैदेखि प्रतिनिधिहरू मतदानस्थलमा लाइनमा लागेका थिए। खराब मौसम, प्राविधिक समस्या र मतपत्र छपाइमा भएको ढिलाइका कारण मतदान सार्नुपरेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्। दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मतपत्रमा हस्ताक्षर गर्न ३२ जना वरिष्ठ अधिवक्ता खटिएको निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले बताएका छन्।

महाधिवेशन एक दिन लम्बिएपछि शुक्रबारको प्रतिनिधिहरूको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिनिधिहरूका लागि राष्ट्रिय सभा गृह, खुलामञ्च र विभिन्न हलमा प्रदेश तथा समूहअनुसार मतदान केन्द्र तोकिएका छन्। मतदानअघि परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री मतदानस्थलमा लैजान पाइने छैन।

मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित व्यवस्थापन गरी मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ। मतगणनाबाट सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको परिणाम सार्वजनिक हुनेछ। विधान संशोधनपछि २९७ सदस्यीय बनेको केन्द्रीय कार्यसमितिका लागि हुने निर्वाचनले कांग्रेसको आगामी नेतृत्व र संगठनात्मक दिशा तय गर्नेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार