नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना पार्टी कार्यालय सानेपामा एकैसाथ २३ स्थानमा भइरहेको छ। मतगणना छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचन समितिले पद र समावेशी समूहअनुसार छुट्टाछुट्टै टोली परिचालन गरेको हो।
सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएपछि सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदको गणनालाई तीव्रता दिइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना पाँच स्थानमा भइरहेको छ। प्रवासस्थित नेपाली जनसम्पर्क समितिका पदको मतगणनाका लागि नौ स्थानमा टोली परिचालन गरिएको छ।
त्यस्तै, आदिवासी जनजाति सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना तीन स्थानमा, सुदूरपश्चिम प्रदेशका विभिन्न पदको चार स्थानमा र पिछडिएको क्षेत्रका पदको दुई स्थानमा गणना भइरहेको छ।
निर्वाचन समितिका अनुसार उम्मेदवार तथा उनीहरूका आधिकारिक प्रतिनिधिको उपस्थितिमा सुरक्षा व्यवस्थासहित मतगणना जारी छ। सदस्य सचिव कटुवालले बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको बताएका छन्।
यसपटक करिब सात हजार मतदाता रहेकाले मतगणनामा समय लागेको उनको भनाइ छ। अघिल्लो महाधिवेशनमा झन्डै तीन हजार मतदाता हुँदा गणना सम्पन्न गर्न १२ दिन लागेको स्मरण गराउँदै उनले यसपटक भने त्यति समय नलाग्ने दाबी गरेका छन्।






