रास्वपा सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै जेनजी सहिद रसिक खतिवडाकी आमा समेत रहेकी सांसद खतिवडाले सहिदको रगत अझै नसुकेको उल्लेख गर्दै सरकारलाई न्याय सुनिश्चित गर्न आग्रह गरिन्।
उनले थुनामा रहेका सम्पूर्ण जेनजीलाई विनासर्त तत्काल रिहा गर्न तथा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आवश्यक परे संसारको जुनसुकै ठाउँमा लगेर राज्यकै खर्चमा निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिन्।
संसद्मा उभिनु आफ्नो व्यक्तिगत राजनीतिक रहर, महत्त्वाकांक्षा वा पदको लालच नभएको बताउँदै उनले जेनजी आन्दोलनका सहिदहरूले पूर्ण न्याय पाए आफू सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने बताइन्।
आफूलाई ‘छोराको लासमाथि सांसद पद साटेको’ जस्ता टिप्पणी हुने गरेको भन्दै उनले एउटी आमाको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न आग्रह गरिन्। उनले यस्तो विषयमा तुच्छ टिप्पणी गर्नुअघि संवेदनशीलता अपनाउनसमेत आग्रह गरेकी छन्।





