जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले जापानको स्थायी बसोबास अनुमति (पीआर) त्यागिसकेको स्पष्ट पारेका छन्। संसदीय सुनुवाइका क्रममा उनले जापानको अध्यागमनबाट पीआर त्यागेको विवरण नेपालको परराष्ट्र मन्त्रालयमा प्राप्त भइसकेको बताएका हुन्।
सन् २००० मा जापान गएको उल्लेख गर्दै थापाले त्यहाँ रहँदा नेपाललाई चिनाउन विभिन्न गतिविधि गरेको बताए। ढाकाटोपी लगाएर कार्यक्रम सञ्चालन गर्नेलगायतका काममार्फत आफूले नेपालसँगको सम्बन्धलाई जोड्ने प्रयास गरेको उनको भनाइ थियो।
‘देशकै लागि काम गर्न चाहेको र राजदूत बन्न आवेदन दिएको’ बताउँदै थापाले आफू नेपालको हितमा काम गर्न इच्छुक रहेको सुनाए।
थापाले जापानको पीआर लिएको र त्यसका कारण राजदूत बन्न अयोग्य रहेको भन्दै उजुरी परेको थियो। संसदीय सुनुवाइका क्रममा सांसदहरूले पनि यस विषयमा प्रश्न उठाएका थिए। जवाफमा उनले जापानमा रहेका आफ्नी श्रीमती र सन्तान नेपाली नागरिककै हैसियतमा रहेको बताएका छन्।






