२०औँ एसियन गेम्समा नेपालका लागि पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार रकम प्राप्त गरेका छन्। खेलकुद विकास नियमावलीअनुसार सरकारले करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक तथा व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरेको हो।
यसअघि असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले पदक विजेतालाई पुरस्कार दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कराते खेलाडी तेञ्जिङ शर्माले ६ लाख ५० हजार रुपैयाँ, उनका प्रशिक्षक कुशल श्रेष्ठले १ लाख ३० हजार रुपैयाँ र व्यवस्थापक युवराज लामाले ६५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
त्यसैगरी, महिला कबड्डी टोलीका प्रत्येक खेलाडीले जनही १ लाख ९५ हजार रुपैयाँ पाएका छन्। टोलीकी मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार रुपैयाँ तथा सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले समान ६५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
जापानको नायोगामा आयोजित २०औँ एसियन गेम्समा नेपालका कराते खेलाडी तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीले कांस्य पदक जितेका थिए। उनीहरूको उपलब्धिको सम्मानस्वरूप सरकारले पुरस्कार उपलब्ध गराएको हो।






