मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

एनपीएलमा लुम्बिनी लायन्स : पुछारदेखि च्याम्पियनसम्म

meronepaltv
meronepaltv
35 मिनेट अगाडि
53
0
एनपीएलमा लुम्बिनी लायन्स : पुछारदेखि च्याम्पियनसम्म
सारांश

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन पुछारमा रहेर प्रतियोगिता अन्त्य गरेको लुम्बिनी लायन्सले दोस्रो सिजनमा उत्कृष्ट पुनरागमन गर्दै उपाध...

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन पुछारमा रहेर प्रतियोगिता अन्त्य गरेको लुम्बिनी लायन्सले दोस्रो सिजनमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्यो। अब तेस्रो सिजनमा पनि च्याम्पियन बनेको लय कायम राख्दै उपाधि रक्षा गर्ने लक्ष्यसहित टोलीले तयारी थालेको छ।

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनीले दोस्रो सिजनको उपाधि जितेको थियो। सुरुवाती चार खेलमध्ये एक खेल मात्रै जितेपछि टोली लिग चरणबाटै बाहिरिने जोखिममा पुगेको थियो। तर अन्तिम तीन खेलमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनीले प्लेअफमा स्थान बनायो।

लिग चरणमा सात खेलबाट आठ अंक जोड्दै चौथो स्थानमा रहेको लुम्बिनीले प्लेअफमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। एलिमिनेटरमा काठमाडौं गोर्खाज र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल पुगेको लुम्बिनीले उपाधिका लागि भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएको थियो।

कोर टिमलाई निरन्तरता

तेस्रो सिजनका लागि लुम्बिनीले उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका नेपाली तथा विदेशी खेलाडीलाई निरन्तरता दिएको छ। नेपाली खेलाडीतर्फ कप्तान रोहित पौडेल, शेर मल्ल, सन्दीप जोरा, तिलक भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी र दिलीप नाथलाई रिटेन गरिएको छ।

विदेशी खेलाडीतर्फ डार्सी सर्ट, रुबेन ट्रम्पलम्यान र निरोसान डिकवेलालाई पनि टोलीले निरन्तरता दिएको छ। दोस्रो सिजनमा संयुक्त रूपमा सर्वाधिक १७ विकेट लिएका शेर मल्ल लुम्बिनीको बलिङका प्रमुख खेलाडीमध्ये एक हुन्।

च्याम्पियन बनाउने मुख्य प्रशिक्षक टिनु योहान्नानलाई पनि टोलीले निरन्तरता दिएको छ। शक्ति गौचन कन्सल्ट्यान्ट प्रशिक्षक र सुवास खकुरेल सहायक प्रशिक्षकका रूपमा रहनेछन्।

आसिफ शेखको आगमनले ओपनिङमा बलियो विकल्प

लुम्बिनीले अक्सनबाट राष्ट्रिय टोलीका ओपनर आसिफ शेखलाई अनुबन्ध गरेको छ। जनकपुर बोल्ट्सले रिलिज गरेपछि आसिफलाई लिन विभिन्न टोलीले प्रयास गरेका थिए। लक्की ड्रमार्फत लुम्बिनीले उनलाई आफ्नो टोलीमा समावेश गर्न सफल भएको हो।

लुम्बिनीले अक्सनबाट किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव र अजय चौहानलाई पनि अनुबन्ध गरेको छ। आफ्नै प्रदेशका युवा खेलाडीलाई अवसर दिने उद्देश्यले आयोजित रेड पल्टन च्याम्पियनसिपले पनि टोलीलाई प्रतिभा पहिचान गर्ने अवसर दिएको थियो।

तेस्रो सिजनका लागि टोलीमा अझै विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी रहेकाले फिनिसर, अलराउन्डर तथा तीव्र गतिका बलरका विकल्प थपिन सक्नेछन्। उपलब्ध खेलाडी र नयाँ अनुबन्धका आधारमा लुम्बिनीले सन्तुलित टोली बनाउने प्रयास गरिरहेको छ।

लुम्बिनी लायन्सको तेस्रो सिजनको टोली

नेपाली खेलाडी: रोहित कुमार पौडेल, सन्दीप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, शेर मल्ल, दिलीप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव र अजय चौहान।

विदेशी खेलाडी: डार्सी सर्ट, रुबेन ट्रम्पलम्यान र निरोसान डिकवेला।

मुख्य प्रशिक्षक: टिनु योहान्नान

कन्सल्ट्यान्ट प्रशिक्षक: शक्ति गौचन

सहायक प्रशिक्षक: सुवास खकुरेल

साझा गर्नुहोस्:

सम्बन्धित समाचार