काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौंको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्किन थालेपछि देशका विभिन्न जिल्लातर्फ जाने सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको हो ।
दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको छ । नयाँबसपार्कबाट लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमार्फत देशका विभिन्न जिल्लामा जाने यात्रुको सङ्ख्या उल्लेख्य रहेको छ ।
नयाँबसपार्क सञ्चालन गर्ने संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नौ दिनमा नयाँबसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् ।
उनका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु नयाँबसपार्कबाट बाहिरिएका हुन् ।
दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न चुनौती भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताएका छन् ।
उनका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारीसाधन आवागमन अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमै रोकिएकाले यात्रु ओसारपसार तथा व्यवस्थापनमा समस्या उत्पन्न भएको उनले बताए ।
दसैँको समयमा यात्रुको चाप बढ्ने र सडकमा अवरोधसमेत हुन सक्ने भएकाले यातायात व्यवसायीले यात्रालाई व्यवस्थित बनाउनुपर्ने देखिएको छ । महासङ्घले यात्रुहरूलाई टिकट काटेर मात्रै यात्रा गर्न, तोकिएको भाडा तिर्न तथा यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
दसैँ परिवार, आफन्त र समुदायबीच भेटघाट तथा सम्बन्ध प्रगाढ बनाउने प्रमुख चाड भएकाले रोजगारी, अध्ययन र व्यवसायका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू हरेक वर्ष गाउँ फर्किने गर्छन् । यस वर्ष पनि बडादसैँ नजिकिँदै गर्दा नयाँबसपार्कसहित काठमाडौंका विभिन्न बसपार्कमा यात्रुको चाप बढ्दै गएको छ ।






