प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बस्दैछ।
बैठकमा ‘डिजिटल संसद्’सँग सम्बन्धित विषयमा छलफल हुने समिति सदस्य डा. राम लामाले जानकारी दिएका छन्।
प्रस्तावित डिजिटल प्रणालीमार्फत सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका जनसरोकारका विषयलाई सम्बन्धित मन्त्रालय तथा सरकारी निकायसँग जोड्ने अवधारणामाथि छलफल हुँदैछ।
सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति भयो र कहिले सम्बोधन गरियो भन्ने विवरणसमेत डिजिटल प्रणालीबाट ट्र्याक गर्न सकिने व्यवस्था विकास गर्ने विषय बैठकमा उठाइनेछ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो।
प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।
त्यस्तै, एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलन अनुमोदन गर्ने प्रस्तावसमेत बैठकको कार्यसूचीमा रहेको छ।





