काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान तथा प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रहरी निरीक्षक आधारभूत तालिमको १ देखि १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी सेवामा नैतिकता, निष्ठा, इमानदारी र अनुशासनलाई पेशागत सफलताको मुख्य आधारका रूपमा लिनुपर्ने बताएका हुन् ।
१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । प्रहरी अधिकारीहरूले संविधान, कानुन, नियम तथा कार्यविधिको पूर्ण पालना गर्दै आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुनुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा सङ्कटका बेला नागरिकको जिउधनको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको रहेको उल्लेख गरे । प्रहरी अधिकारीहरूले कुनै पनि अनुचित प्रभावमा नपरी भेदभावरहित रूपमा कर्तव्य निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
प्रहरीको काम नागरिकले प्रत्यक्ष रूपमा अनुभूत गर्न सक्ने हुनुपर्ने बताउँदै प्रधानमन्त्री शाहले संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन पनि प्रहरी निरीक्षकहरूलाई सचेत गराए ।
बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्तिमा परिवर्तन भइरहेको उल्लेख गर्दै उनले अपराध अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग आवश्यक रहेको बताए ।
प्रभावकारी अनुसन्धानका लागि प्रहरी संगठन, नेतृत्व र प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए ।






