मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

चार दिनपछि बेनी–बाबियाचौर सडक सञ्चालनमा

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ३०
14
0
चार दिनपछि बेनी–बाबियाचौर सडक सञ्चालनमा
सारांश
पछिल्लो झरीका कारण चार दिनदेखि अवरुद्ध बनेको म्याग्दीको बेनी–बाबियाचौर सडकखण्ड सञ्चालनमा आएको छ। सडक खुलेसँगै जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयको जनज...


पछिल्लो झरीका कारण चार दिनदेखि अवरुद्ध बनेको म्याग्दीको बेनी–बाबियाचौर सडकखण्ड सञ्चालनमा आएको छ। सडक खुलेसँगै जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन तथा यातायात सहज भएको छ।

पूर्वाधार विकास कार्यालयले बेनीदेखि मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै पानाबगरसम्मको १६ किलोमिटर सडक मर्मत गरी मंगलबार साँझदेखि यातायात सञ्चालनमा ल्याएको हो।

बेनी–दरबाङतर्फबाट बाङ्गेपहिरोसम्मको करिब २४ किलोमिटर सडकखण्डमा पनि मर्मतको काम भइरहेको छ। मङ्गला, मालिका र धवलागिरि गाउँपालिकासहित बागलुङको तमानखोला जोड्ने सडक सञ्चालनमा ल्याउन विभिन्न स्थानमा उपकरण परिचालन गरिएको छ।

असोज १० गतेदेखि सडक अवरुद्ध हुँदा पश्चिम म्याग्दीको जनजीवन प्रभावित भएको थियो। पानाबगरदेखि रणबाङ, दुखु, रातोढुङ्गा, तोलाबाङ हुँदै बाङ्गेपहिरोसम्मको सडक मर्मतलाई दुईतर्फबाट तीव्रता दिने तयारी गरिएको छ।

यसैबीच, कालीगण्डकीको कटानका कारण बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा समेत क्षति पुगेको छ। तिल्केनीचौरमा सडक कटान, पोखरेबगरमा सडक पुलको पहुँचमार्ग तथा खामभित्तामा सडकमा क्षति पुगेको जनाइएको छ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्क प्रभावित हुनुका साथै कोरला नाकाबाट हुने आयात–निर्यात, मुस्ताङको स्याउ तथा च्याङ्ग्रा बजार पठाउने काममा समेत असर परेको छ। शरदयाम सुरु भएसँगै पर्यटकीय गतिविधिमा पनि यसको प्रभाव पर्न सक्ने देखिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार