६ माघ, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको नेपाली कांग्रेसले अझै ९ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन। प्राप्त विवरणअनुसार १६५ निर्वाचन क्षेत्रमध्ये ती क्षेत्रमा उम्मेदवार चयनको प्रक्रिया अधुरो रहेको छ।
कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमअन्तर्गत पर्ने कैलाली-४ मा उम्मेदवार तय गर्न नसक्दा विशेष चासोका साथ हेरिएको छ। यसअघि सो क्षेत्रबाट प्रदेश सभापति वीरबहादुर बलायरलाई टिकट दिने चर्चा भए पनि अन्तिम निर्णय हुन बाँकी छ।
यस्तै मुस्ताङ निर्वाचन क्षेत्रमा पनि उम्मेदवार चयन हुन सकेको छैन। राजधानी काठमाडौंका क्षेत्र नम्बर १, २, ३ र ७ मा समेत आन्तरिक सहमति जुट्न नसक्दा उम्मेदवारी घोषणा रोकिएको छ।
यसका साथै भक्तपुर-१, चितवन-१ र पर्सा-२ मा पनि कांग्रेसले उम्मेदवार टुंग्याउन बाँकी राखेको छ। पार्टीभित्र छलफल जारी रहेको र बाँकी उम्मेदवारको टुंगो चाँडै लगाइने कांग्रेसले जनाएको छ।





