२१ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन दुई चरणमा नगरी एकै चरणमा सम्पन्न गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले तोकिएको मितिमा नै निर्वाचन हुने स्पष्ट पार्दै फागुन २१ गते एकै चरणमा चुनाव गरिनुपर्ने धारणा राखे।
उनले भने, “चुनाव अवश्य हुन्छ र २१ फागुनमै हुन्छ। मेरो सरकार र निर्वाचन आयोगलाई सुझाव छ-चुनाव दुई चरणमा होइन, एकै चरणमा गरियोस् र निष्पक्ष वातावरणको सुनिश्चितता गरियोस्।”
प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न भए नेकपा पहिलो दल बन्ने दाबी पनि गरे। सामाजिक सञ्जालका गतिविधिले मात्रै चुनावी नतिजा तय नहुने उनको भनाइ थियो।
“सफा र निष्पक्ष निर्वाचन हुँदा हाम्रो पार्टी एक नम्बर बन्ने सम्भावना छ। सामाजिक सञ्जालमा हुने हल्लाले मात्र नतिजा निर्धारण हुँदैन,” उनले भने।
उनले राष्ट्रलाई एकताबद्ध गर्ने, भ्रष्टाचारविरुद्ध उभिने, सुशासन र आर्थिक विकासलाई अघि बढाउने तथा अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न सक्ने नेतृत्व र पार्टीलाई नेपाली जनताले चिनेको दाबी गरे।





