काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तथा परिवारको जिउज्यानको सुरक्षा मागेको भनिएको एक निवेदन सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । तर प्रहरीले भने उक्त निवेदन आफूहरूसमक्ष प्राप्त नभएको जनाएको छ ।
जबराका छोरा सचिन्द्र शमशेर जबरा राणाको तर्फबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई सम्बोधन गरिएको निवेदनमा निवास तथा परिवारका सदस्यको सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन आग्रह गरिएको उल्लेख छ ।
निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विषयका कारण आफू र परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ ।
त्यस्तै, विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा गरेका न्यायिक निर्णयका कारण थप असुरक्षा महसुस भएको निवेदनमा उल्लेख छ ।
तर, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सोमेन्द्र सिंह राठोरले जबराले सुरक्षा माग गरेको उक्त निवेदन कार्यालयमा प्राप्त नभएको बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले पनि आफ्नो कार्यालयमा त्यस्तो पत्र नआएको बताएका छन् ।
यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘सुरक्षा थ्रेट’को सूचना पाएको भन्दै जबरालाई शनिबार मध्यरातमा नियन्त्रणमा लिएको थियो । उनलाई आइतबार अपराह्न छाडिएको थियो ।
जबरालाई नियन्त्रणमा लिएर छाडिएको विषयमा यसअघि नै संसद्मा समेत प्रश्न उठिसकेको छ।





