नेपाली नारीहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा बिहानै उठेर नित्यकर्म पूरा गरी तीज व्रतको पारायणपछि स्नान तथा पूजा गर्ने परम्परा छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषि पञ्चमी महिलाका लागि विशेष रूपमा वर्णन गरिएको छ।
परम्पराअनुसार महिलाहरू नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने र स्नान गर्ने गर्छन्। यस वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको भोलिपल्टै ऋषि पञ्चमी परेको हुँदा व्रत पारायणपछि पञ्चमी स्नानलगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ।
स्नानपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र गरी सप्तऋषिको पूजा गर्ने गरिन्छ। सप्तऋषिको पूजा गरिने पञ्चमी भएकाले यस पर्वलाई ऋषि पञ्चमी भनिएको हो।
धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा भएका त्रुटि वा छुइछाइसम्बन्धी दोषबाट मुक्ति पाउन ऋषि पञ्चमीमा सप्तऋषिको पूजा गर्ने परम्परा विकास भएको बताइन्छ। यद्यपि यस्ता धार्मिक मान्यतालाई आधुनिक स्वास्थ्य तथा वैज्ञानिक दृष्टिकोणबाट समेत अध्ययन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
ऋषि पञ्चमीसँग जोडिएको धार्मिक किम्बदन्तीमा इन्द्रको ब्रह्महत्याको पाप पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भागमा बाँडिएको उल्लेख पाइन्छ। यही धार्मिक विश्वाससँग रजस्वलाको अवधारणालाई जोडेर विभिन्न परम्परा विकास भएको बताइन्छ।
आज पूजा सम्पन्न गरेपछि सामा, कागुनो, कन्दमूल, कर्कलालगायतका अन्न तथा खाद्य पदार्थ सेवन गरी एक छाक हविष्य बस्ने व्रतविधि रहेको छ।
काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा बिहानैदेखि श्रद्धालु महिला भक्तजनको भीड लागेको छ। मन्दिर जान नसक्नेहरूले नदी किनार वा आफ्नै घरमा सप्तऋषिको पूजा तथा आराधना गर्ने गरेका छन्।





