मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भोटेकोशी–त्रिशूली विपद् संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २९
10
20
भोटेकोशी–त्रिशूली विपद् संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी
सारांश
हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता गणेश प...

हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ।

पराजुलीको उम्मेदवारीमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदले समर्थन गरेका छन्। नेपाली कांग्रेसका मोहन आचार्य प्रस्तावक तथा नेकपा एमालेका पुष्पराज कँडेल, नेकपाका रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राप्रपाकी सरस्वती लामा र रास्वपाकी निशा डाँगी समर्थक छन्।

सभापति चयनका लागि भोलि दिउँसो २ बजे निर्वाचन हुँदैछ। एकल उम्मेदवारी परेकाले पराजुली सभापति बन्ने अवस्था बनेको छ।

रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि असोज ५ गते १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो। समितिको कार्यअवधि तीन महिना तोकिएको छ भने आवश्यकताअनुसार म्याद थप गर्न सकिने व्यवस्था छ।

समितिको कार्यादेशमा हिमालमा जलवायु परिवर्तनको प्रभाव, हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिमको अध्ययन तथा समीक्षा गर्ने विषय समेटिएको छ।

त्यस्तै, भोटेकोशी–त्रिशूली विपद्को कारण र प्रभाव, जलवायु परिवर्तनसँगको सम्भावित सम्बन्ध, सीमापार जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरको अध्ययन गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

खोज, उद्धार, राहत, सुरक्षित अस्थायी बसोबास, आधारभूत सेवा, जीविकोपार्जन पुनर्स्थापना तथा प्रभावित नागरिकका आवश्यकताका आधारमा तत्काल र मध्यमकालीन सुधारका उपाय सिफारिस गर्ने कार्यादेश पनि समितिको छ।

समितिले दिगो तथा सुरक्षित पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण, पूर्वचेतावनी प्रणाली, जलवायु कूटनीति तथा सीमापार सहकार्य र कानुनी तथा संस्थागत सुधारका विषयमा समेत अध्ययन गरी सुझाव दिनेछ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार