मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भोटेकोशी–त्रिशूली विपद् संसदीय विशेष समितिको पहिलो बैठक आज

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ३०
11
0
भोटेकोशी–त्रिशूली विपद् संसदीय विशेष समितिको पहिलो बैठक आज
सारांश
‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति’को पहिलो बैठक आज सिंहदरबारमा बस्दैछ। बैठकले समितिको सभापति चयन गर्ने ...

‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति’को पहिलो बैठक आज सिंहदरबारमा बस्दैछ। बैठकले समितिको सभापति चयन गर्ने कार्यसूची रहेको छ।

समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ। उनको प्रस्तावकमा सांसद मोहन आचार्य तथा समर्थकमा निशा डाँगी, पुष्पराज कँडेल, रमेश कुमार मल्ल, ध्रुवराज राई र सरस्वती लामा रहेका छन्। पराजुली निर्विरोध सभापति निर्वाचित भएको घोषणा हुने बताइएको छ।

असोज ५ गते गठन भएको १५ सदस्यीय समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य छन्।

समितिले हिमालमा जलवायु परिवर्तनको प्रभाव, हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिमबारे अध्ययन गर्नेछ। उपलब्ध तथ्यांक तथा अध्ययनको समीक्षा गर्दै वैज्ञानिक अनुसन्धान र नियमित अनुगमन सुदृढ गर्ने उपायसमेत सिफारिस गर्ने कार्यादेश छ।

भोटेकोशी–त्रिशूली विपद्को कारण तथा प्रभाव, विपद्को तत्काल कारण, जोखिम बढाउने कारक, जलवायु परिवर्तनसँगको सम्भावित सम्बन्ध तथा सीमापार जलाधारको प्रभावबारे पनि समितिले अध्ययन गर्नेछ।

खोज तथा उद्धार, बेपत्ता नागरिकको अवस्था, राहत वितरण, सुरक्षित अस्थायी बसोबास, आधारभूत सेवा र जीविकोपार्जन पुनर्स्थापनाको समीक्षा गरी प्रभावित नागरिकका आवश्यकताअनुसार तत्काल तथा मध्यमकालीन सुधारका उपाय सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

समितिले दिगो तथा सुरक्षित पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण, पूर्वचेतावनी प्रणाली, जलवायु कूटनीति तथा सीमापार सहकार्यका विषयमा समेत सुझाव दिनेछ। साथै, आवश्यक कानुनी तथा संस्थागत सुधारका लागि सिफारिस गर्ने कार्यादेश रहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार