भोटेकोशीको विनाशकारी बाढी तथा त्यसपछिको बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ६ हजार १४५ जना बेपत्ता छन्।
मृतकमध्ये ३३६ जना महिला, ५४९ जना पुरुष र ५२५ वटा मानव अवशेष रहेका छन्। प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
उद्धार गरिएकामध्ये ३४४ जना उपचाररत छन् भने २९० जना उपचारपछि डिस्चार्ज भएका छन्। विभिन्न सुरक्षा निकायमार्फत हालसम्म ९ हजार ८२० जनालाई उपचार सेवा प्रदान गरिएको छ।
मृतक तथा बेपत्ताको पहिचानका लागि १ हजार २८६ जना मृतक र उनीहरूका आफन्तका १ हजार ९४४ वटा डिएनए नमुना संकलन गरिएको छ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो र नाता प्रमाणित गर्ने कागजातसहित डिएनए नमुना बुझाउन सकिने व्यवस्था गरिएको छ।
उद्धार गरिएकाहरूको व्यवस्थापनका लागि २७ वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ। तीमध्ये नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना रहेका छन्।
उद्धार तथा राहतका लागि नेपाल प्रहरी र नेपाली सेनाका हेलिकप्टरबाट १ हजार ६३४ तथा सशस्त्र प्रहरी बलबाट ३२० उडान भएका छन्। नुवाकोटको देवीघाटमा एक्रो पुल जडान गरी सञ्चालनमा ल्याइएको छ भने प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैरखाद्य राहत सामग्री वितरण जारी छ।
प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि ६० हजार लिटर डिजेल, १२ हजार लिटर पेट्रोल र ४ हजार लिटर हवाई इन्धन उपलब्ध रहेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ। त्यस्तै, ५०२ वटा ग्यास सिलिन्डर प्रभावित क्षेत्रमा पठाइएको छ।
होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई सरकारले अधिकतम ६ महिनासम्म आवास तथा जीविकोपार्जनका लागि मासिक नगद सहयोग दिने भएको छ। परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ उपलब्ध गराइनेछ।





