अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतोविरुद्ध सरकारी लिखत किर्तेसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ।
रौतहटको दुर्गाभगवती गाउँपालिका–२ का ३१ वर्षीय महतोमाथि अधिकारको दुरुपयोग गरी विदेशी नागरिकको भिसा विवरण गैरकानुनी रूपमा सच्याएको, केरमेट तथा थपघट गरेको र भिसा शुल्कबापतको राजस्वसमेत अभिलेखमा नदेखाएको आरोप छ।
अभियोगअनुसार लक्जम्बर्गका नागरिक पाउल क्रिस्टिन्सन पिरेरी गेडिज्टको नाममा रहेको आवासीय भिसाको विवरण अमेरिकी नागरिक डिन जे रोबिन्सनको नाममा परिवर्तन गरी भिसा जारी गरिएको थियो। घटना सन् २०२४ को रहेको अनुसन्धानमा उल्लेख छ।
अनुसन्धानका क्रममा गेडिज्टको नाममा जारी भएको आवासीय भिसाको विवरण अमेरिकी नागरिक रोबिन्सनको राहदानी विवरणसँग मर्ज गरिएको देखिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। जबकि रोबिन्सनको आवासीय भिसाका लागि गृह मन्त्रालयबाट निर्णयसमेत भएको थिएन।
अख्तियारका अनुसार भिसा अभिलेखमा प्रयोग हुने ‘ट्राभल सेन्ट्रलाइजेसन’ प्रणालीको उद्देश्य एउटै व्यक्तिको विवरणमा भएको त्रुटि सच्याएर अभिलेख एकीकृत गर्नु हो। तर महतोले एक विदेशी नागरिकको नाममा रहेको भिसा अर्कै व्यक्तिको नाममा कायम गर्न प्रणालीको दुरुपयोग गरेको आरोप छ।
महतोले भने बयानका क्रममा आफूलाई यसबारे जानकारी नभएको दाबी गरेका छन्। उनले आफ्नो समयमा विभागको प्रणालीमा ‘ट्राभल सेन्ट्रलाइजेसन’ विकल्प नै नरहेको र आफ्नो युजर आईडी कसरी प्रयोग भयो भन्ने थाहा नभएको बताएका छन्।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २७६ अन्तर्गत मुद्दा दायर गरिएको छ। उक्त कसुर प्रमाणित भए सरकारी वा सार्वजनिक लिखत किर्तेसम्बन्धी प्रावधानअनुसार कैद तथा जरिवाना हुन सक्ने व्यवस्था छ।
काठमाडौं जिल्ला अदालतमा महतोको बयान भइरहेको छ। बयानपछि थुनछेक बहस हुनेछ र अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेबारे आदेश दिनेछ।
यसैबीच, श्रम स्वीकृतिबिना एक युवकलाई कुवेत पठाएको भनिएको अर्को घटनामा अध्यागमन अधिकृत टेकेन्द्र सेजुवालमाथि पनि अनुसन्धान भइरहेको छ। अनुसन्धानमा २३ हजार रुपैयाँको लेनदेन भएको देखिएको र उक्त रकम पछि फिर्ता गरिएको पाइएको बताइएको छ। यो विषय अख्तियारले समेत हेरिरहेको छ।





