मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भारी वर्षाको सम्भावनापछि कर्णालीमा पूर्वतयारी तीव्र

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २४
5
20
भारी वर्षाको सम्भावनापछि कर्णालीमा पूर्वतयारी तीव्र
सारांश
सुर्खेत — कर्णाली प्रदेशमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूले पूर्...


सुर्खेत — कर्णाली प्रदेशमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूले पूर्वतयारी तथा सतर्कता बढाएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णालीका केही स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहिरो, डुबान, भूक्षय र सडक अवरोधको जोखिम बढ्न सक्ने भन्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा. इन्दिरा कडेलसँग पछिल्लो मौसम अवस्था र सम्भावित जोखिमबारे जानकारी लिएका छन्। त्यसपछि प्रदेशका सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र आपसी समन्वयमा रहन आग्रह गरिएको छ।

स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका बस्ती र कमजोर भौगोलिक क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। अत्यावश्यकबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न तथा यात्रा गर्नैपरे मौसम र सडकको अवस्था बुझेर मात्र अघि बढ्न अनुरोध गरिएको छ।

सडक डिभिजन कार्यालय चौरजहारीले पनि असोज ८ देखि १२ गतेसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै पहिरो सम्भावित क्षेत्र, खोला–नाला र कमजोर सडकखण्डमा सावधानी अपनाउन आग्रह गरेको छ। वर्षाका कारण सडक अवरुद्ध हुनसक्ने भएकाले आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ।

कर्णालीका हिमाली तथा पहाडी जिल्लामा वर्षासँगै यातायात प्रभावित हुने जोखिम रहेकाले रातिको यात्रा नगर्न र मौसमसम्बन्धी आधिकारिक सूचना हेरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

सम्भावित विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि प्रदेश सरकार, स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायबीच समन्वय बढाइएको छ। प्रदेश सरकारले मौसमको अवस्था निरन्तर निगरानी गर्ने र जोखिमअनुसार आवश्यक कदम चाल्ने जनाएको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार