नेपालको मौसममा अहिले तीनवटा पानी पार्ने प्रणालीको असर देखिएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छँदैछ। यसका साथै मनसुन प्रणालीमा पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।)
यसका अतिरिक्त नेपालको मौसमी प्रणालीमा बंगालको खाडीमा विकास भएको अर्को प्रणालीको पनि असर छ।
यो न्यून चापीय क्षेत्र हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशभर वर्षा भइरहेको छ। यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सरिराखेको थियो । आजबाट भने प्रणाली कमजोर हुने सम्भावना रहेको महाशाखाले बताएको छ।
मौसमविद् विनोद पोखरेलले पछिल्लो मौसम अवस्थाले हालसम्म ठूलो क्षति ननिम्त्याएको बताएका छन्। लगातार वर्षाका कारण विभिन्न स्थानमा पहिरो भने गएका छन्। यातायाता अवरूद्धका घटना भएका छन्।
उनका अनुसार कोशी प्रदेशमा हल्का वर्षा भइरहेको छ। तर, आज साँझदेखि वर्षा क्रमशः कम हुने देखिएको उनले बताए।
भारी वर्षाको सम्भावना भने कोशीबाट बागमतीका केही जिल्ला हुँदै सुदूरपश्चिमतर्फ सरेको उनको भनाइ छ ।
काठमाडौंमा अहिले केही ठूलो वर्षा भइरहेको छ। तर, दिउँसोदेखि अति भारी वर्षाको सम्भावना न्यून रहेको उनको भनाइ छ।
पछिल्लो २४ घण्टामा देशभर हल्कादेखि मध्यम वर्षा भएको छ। केही केन्द्रमा भारी वर्षा पनि रेकर्ड भएको छ। धेरै भारी वर्षा भने भएको देखिँदैन। इलामको कन्याम चिया बगान केन्द्रमा पछिल्लो २४ घण्टामा ११२.४ मिलिमिटर वर्षा भएको छ। रोशी केन्द्रमा १०८.६ मिलिमिटर वर्षा भएको छ। खोपासीमा ९१.४, बाहुनेपाटीमा ८०.२, चिसापानीगढीमा ८१.४ मिलिमिटर वर्षा मापन भएको छ।





