पोखरा — सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाका अनुसार असोज ८ र ९ गते विद्यालयमा पठनपाठन बन्द रहनेछ। मौसममा आएको परिवर्तन र प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै पूर्वसावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विद्यालय बन्द गरिएको दुई दिनलाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने बताएका छन्।
उनले विद्यार्थी, अभिभावक, शिक्षक तथा नगरवासीलाई सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सतर्क र सुरक्षित रहन आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।





