काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको छ। विभागले मौसम प्रणालीको निरन्तर अनुगमन भइरहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार असोज ७ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुनसक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न भूभागमा राति पनि भारी वर्षाको सम्भावना छ।
असोज ८ गते बिहीबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा केही स्थानमा धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ।
असोज ९ गते शुक्रबार वर्षाको जोखिम थप बढ्ने देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।
यस अवधिमा मधेश तथा बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।
विभागले वर्षाका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।





