बुढीगण्डकी र यसको सहायक नदी स्यार खोलामा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार गोरखाको धार्चे गाउँपालिकाबाहेक बाढी प्रभावित सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ। धार्चेमा पनि पुनःस्थापनाको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण आरुघाट वितरण केन्द्रले जनाएको छ।
खोर्लाबेंसीभन्दा माथि सडक पहुँच नहुँदा र विद्युत् लाइनमा ठूलो क्षति पुगेकाले त्यहाँसम्म जतिसक्दो छिटो विद्युत् सेवा पुर्याउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
बाढीले अवरुद्ध पारेपछि प्राधिकरणले तत्काल मर्मत सुरु गरेको थियो। करिब १० घण्टामै भीमसेन थापा गाउँपालिकाका वडा नम्बर २, ३ र ४ मा विद्युत् सेवा सञ्चालन गरिएको थियो। आरुघाट बजारसहित डाँडागाउँ र आरुपोखरी शाखामा पनि सेवा पुनः सञ्चालन भइसकेको छ।
बाढीका कारण गोरखा र धादिङका विद्युत् वितरण प्रणाली तथा विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको छ। बुढीगण्डकी, टाइम्स इनर्जी, दोभान खोला, यारु खोला र माछा खोला जलविद्युत् आयोजनाका क्याम्प, निर्माण उपकरण, सामग्री, पहुँच सडक तथा पुलहरूमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।
गोरखाको धार्चे गाउँपालिकामा ७० भन्दा बढी उच्च भोल्टेजका पोलमा क्षति पुगेको छ। सोती, आर्खेत र आरुघाट बजार क्षेत्रका वितरण लाइनका पोलसमेत क्षतिग्रस्त भएका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजारमा पनि न्यून भोल्टेजका ६ वटा पोलमा क्षति पुगेको छ।
मन्त्रालयका अनुसार बाढी प्रभावित सबै क्षेत्रमा यसै हप्ताभित्र विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्यसहित मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ।






