मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बूढीगण्डकीमा विनाशकारी बाढी: नदी थुनेर फुटेको हो पहिरो?

meronepaltv
meronepaltv
2 घण्टा अगाडि
59
0
बूढीगण्डकीमा विनाशकारी बाढी: नदी थुनेर फुटेको हो पहिरो?
सारांश

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित हिमाली क्षेत्रमा गएको ठूलो पहिरोका कारण बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अध्...

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित हिमाली क्षेत्रमा गएको ठूलो पहिरोका कारण बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। आइतबार बिहान आएको बाढीको उद्गम पहिल्याउन स्थलगत अवलोकन तथा भू–उपग्रहका तस्बिर अध्ययन गर्दा हिमाली भेगबाट ठूलो मात्रामा चट्टान, माटो र गेग्र्यान खसेको संकेत भेटिएको हो।

चामर हिमाल आसपासको क्षेत्रदेखि चुम्चेत गाउँमाथिसम्मको भूभागमा पहिरो गएको देखिएको छ। पहिरोका कारण नदीमा माटो र गेग्र्यान मिसिँदा बूढीगण्डकीको पानी धमिलो मात्र नभई कालो देखिएको छ। केही स्थानमा पहरा खसेको, रुखबिरुवा मडारिएको तथा भूक्षयका संकेत देखिएकाले पहिरो एकै दिनमा मात्र गएको नहुन सक्ने प्रारम्भिक आकलन गरिएको छ।

सेन्टिनेल–२ भू–उपग्रहबाट प्राप्त कृत्रिम रङयुक्त तस्बिरले शृङ्गी हिमालमुनिको क्षेत्रबाट पहिरो र भल–बाढीको बहाव सुरु भएको संकेत देखाएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले तस्बिर अध्ययनपछि बाढी स्यार खोलामा मिसिएर तल्लो चुम उपत्यका हुँदै सल्लेरी र जगतसम्म पुगेको जानकारी दिएको छ। यद्यपि, पहिरो कहाँबाट र किन सुरु भयो, नदी कसरी थुनियो र बाढी कुन प्रक्रियाबाट आयो भन्ने विषयमा थप प्राविधिक अध्ययन आवश्यक रहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार उपलब्ध तस्बिरमा हिमाली क्षेत्रमा ठूलो पहिरो गएको देखिन्छ। उनका अनुसार पहिरोबाट खसेको माटो र गेग्र्यानले नदी थुनेपछि पानी जम्मा भएको र अस्थायी अवरोध फुट्दा बाढी आएको हुन सक्छ। बाढी एकैपटक नभई पटक–पटक नदी थुनिने र खुल्ने क्रमबाट आएको सम्भावना पनि उनले औँल्याएका छन्।

स्थानीयवासीले पनि सुरुमा खोला सुकेको जस्तो देखिएको, त्यसपछि अचानक ठूलो बाढी आएको र केही समय शान्त भएपछि पुनः अर्को ठूलो बाढी आएको बताएका छन्। विज्ञहरूका अनुसार हिमाली क्षेत्रमा खोलाको बहाव अचानक घट्नु जोखिम समाप्त भएको संकेत नहुन सक्छ। माथिल्लो जलाधारमा पहिरोले नदी थुनेर पानी जम्मा भइरहेको अवस्थामा यस्तो अवस्था देखिन सक्ने भएकाले सतर्कता आवश्यक हुन्छ।

बाढीले चुमनुब्री गाउँपालिकाका विभिन्न बस्ती, पदमार्ग, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्‍याएको छ। सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको छ। त्यस्तै, दोभानखोला जलविद्युत् आयोजनाले निर्माण गरेको बेलिब्रिज पनि बगाएको छ।

फिलिम र आरुघाटबीचको सोतीखोला पुल बग्दा आरुघाट गाउँपालिकाका वडा नं. २ र ३ बीचको सम्पर्क विच्छेद भएको छ। जगत बजारमा समेत क्षति पुगेको छ। मनास्लु क्षेत्रमा पदयात्रा गर्ने पर्यटकका लागि प्रमुख बिसौनी मानिने जगतमा बाढी आउँदा स्थानीय बासिन्दा तथा पर्यटकको सुरक्षालाई प्राथमिकता दिइएको थियो।

बाढीपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थान खोज्दै डाँडातिर उक्लिएका थिए। जगतका स्थानीय गणेश कार्कीले घरहरू बगाएको हेर्नुबाहेक आफूहरूसँग तत्काल अर्को विकल्प नरहेको बताएका छन्।

विपद् प्राधिकरणका अनुसार उद्धारका लागि चारवटा हेलिकोप्टर परिचालन गरी ४७ जनालाई उद्धार गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उद्धार तथा राहत कार्यमा परिचालित भएका थिए।

यसअघि २०७८ सालको वर्षायाममा पनि उत्तरी गोरखाको जगत, यारुबगर र चुमनुब्री क्षेत्रमा बाढीपहिरोले बाटो तथा पुलमा क्षति पुर्‍याएको थियो। त्यसको केही वर्षपछि मनास्लु हिमनदी क्षेत्रको वीरेन्द्र तालमा हिमपहिरो खस्दा ठूलो परिमाणमा बरफ र गेग्र्यानले पानी विस्थापित भएर बूढीगण्डकी नदीको बहाव बढेको घटना पनि विज्ञहरूले स्मरण गरेका छन्।

विज्ञहरूका अनुसार हिमाली नदीलाई पानी बग्ने नालाका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। हिमनदी, चट्टान, पहिरो, गेग्र्यान र बदलिँदो भू–आकृतिबीचको अन्तर्क्रियाले नदीको बहावमा अचानक परिवर्तन ल्याउन सक्छ। पहिरो वा हिमपहिरोले नदी थुन्दा माथिल्लो भागमा पानी जम्मा हुने र अस्थायी बाँध फुट्दा ठूलो बाढी आउन सक्ने भएकाले सम्पूर्ण जलाधार क्षेत्रको निगरानी आवश्यक हुन्छ।

बूढीगण्डकी बाढीको वास्तविक उत्पत्ति, नदी थुनिएको स्थान र बाढी आएको प्रक्रियाबारे विस्तृत वैज्ञानिक अध्ययन हुन बाँकी छ। प्रारम्भिक अवलोकनले भने हिमाली क्षेत्रमा पहिरो, गेग्र्यान र नदी अवरोधबाट उत्पन्न हुन सक्ने विपद्को जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने देखाएको छ।

Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार