मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बूढीगण्डकी बाढीबारे सेनाको रिपोर्टिङ : ‘सुक्खा पहिरोले बहाव थुनियो अनि बाढी आयो’

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
1
0
बूढीगण्डकी बाढीबारे सेनाको रिपोर्टिङ : ‘सुक्खा पहिरोले बहाव थुनियो अनि बाढी आयो’
सारांश

गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जे क्षेत्रमा पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गर...

गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जे क्षेत्रमा पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्र वर्षा भएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना नदेखिएको जनाएको छ।

महाशाखाका अनुसार प्रारम्भिक सूचना र भू–उपग्रहका तस्बिरको अवलोकन गर्दा पहिरोले नदी थुनिएर त्यसपछि फुट्दा एक्कासि बाढी आएको हुन सक्ने देखिएको हो। यद्यपि, घटनाको वास्तविक कारण पुष्टि गर्न विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ।

बाढीबारे आइतबार बिहान ६ बजे प्रारम्भिक जानकारी प्राप्त भएको थियो। त्यसपछि बूढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा जलसतह तीव्र रूपमा बढ्न थालेको थियो। बिहान ६ः३० बजे २.२८ मिटर रहेको जलसतह बढेर ३.६६ मिटर पुगेको थियो। उक्त केन्द्रमा सतर्कता तह ४.५० मिटर रहेको छ।

बिहान ७ः५० बजे जलसतह बढेर ५.०१ मिटर पुगेको थियो, जुन खतराको तहभन्दा माथि हो। त्यसपछि केही घटेको जलसतह पुनः तीव्र गतिमा बढ्दै बिहान ८ः३० बजे ६.२२ मिटर र ८ः४० बजे ८.४३ मिटर पुगेको थियो।

जलसतह अत्यधिक बढेपछि आएको बाढीले पुलसहित बाढी मापन केन्द्र नै बगाएको महाशाखाले जनाएको छ। त्यसपछि उक्त केन्द्रबाट थप विवरण प्राप्त हुन सकेको छैन।

बाढीको प्रारम्भिक सूचना प्राप्त हुनासाथ महाशाखाले बूढीगण्डकी नदीको तटीय क्षेत्रदेखि धादिङको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाएको जनाएको छ। बिहान करिब ८ बजे फेसबुक लाइभमार्फत अद्यावधिक जानकारी सार्वजनिक गर्दै जोखिमयुक्त बस्ती खाली गर्न तथा आवश्यकताअनुसार राजमार्ग र करिडोरमा आवागमन बन्द गर्न आग्रह गरिएको थियो।

त्यस्तै, मुग्लिङसम्म उच्च सतर्कता अपनाउन तथा तनहुँ, चितवन र नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा सावधानी अपनाउन अपिल गरिएको थियो। बिहान ९ः२५ बजे पुनः एसएमएस पठाएर सर्वसाधारण तथा सरोकारवाला निकायलाई सुरक्षित स्थानमा जान र थप सूचना जारी नभएसम्म त्यहीँ रहन अनुरोध गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बाढीको जोखिमबारे जानकारी गराउन दुई पटक गरी करिब दुई लाख एसएमएस पठाइएको थियो। बाढीको अवस्था र सम्भावित जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी गराउने उद्देश्यले विभिन्न माध्यमबाट सूचना प्रवाह गरिएको महाशाखाको दाबी छ।

बाढीको बहाव केही घटेको देखिए पनि जोखिम पूर्ण रूपमा नहटेको भन्दै महाशाखाले बूढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्मै नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

त्यस्तै, पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध गरिएको छ। घटनाको वास्तविक कारण, क्षतिको अवस्था तथा बाढीको थप जोखिमबारे प्राविधिक विश्लेषणपछि अद्यावधिक जानकारी सार्वजनिक गरिने महाशाखाले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार