मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट १ हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार

meronepaltv
meronepaltv
48 मिनेट अगाडि
48
0
 बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट १ हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार
सारांश

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सहायक प्रमुख जिल...

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक छन्।

बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा स्थानीय तथा पर्यटक फसेका थिए। उनीहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिएको हो।

शर्माका अनुसार बाढी आएको पहिलो दिन आइतबार ९६ जनाको उद्धार गरिएको थियो। सोमबार ३२१, मंगलबार १८६ र बुधबार ४४१ जनालाई उद्धार गरिएको उनले जानकारी दिए।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्र पारिएको छ। सरकार र विभिन्न संघसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार र जेनेरेटरलगायत सामग्री वितरण भइरहेको छ। सडक तथा पदमार्गमा क्षति पुगेका कारण राहत पुर्‍याउन र नागरिकको उद्धार गर्न हेलिकोप्टर प्रयोग भइरहेको शर्माले बताए।

हेलिकोप्टरमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने र फर्कँदा प्रभावित नागरिकलाई उद्धार गरेर ल्याउने गरिएको उनले जानकारी दिए।

यसैबीच, नेपाल रेडक्रस सोसाइटीले पनि बाढी प्रभावित क्षेत्रमा प्रतिकार्य तथा राहत वितरणलाई तीव्र बनाएको छ। रेडक्रसका महामन्त्री ऋषि खनालका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपुरका स्वयंसेवक परिचालन गरिएको थियो। उनीहरूले पूर्वसूचना प्रवाह गर्नुका साथै प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याइरहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट र डिग्निटी किटलगायत गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको रेडक्रसले जनाएको छ। अस्पताल सञ्चालन गर्न सकिने दुई ठूला टेन्टसमेत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

बाढीबाट भएको क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको र थप आवश्यक राहत सामग्री सरकारसँगको समन्वयमा पठाउने तयारी भइरहेको रेडक्रसले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार