मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बूढानीलकण्ठमा बरामद साढे २१ किलो सुन विमानस्थलबाटै भित्रिएको आशंका

meronepaltv
meronepaltv
49 मिनेट अगाडि
50
0
 बूढानीलकण्ठमा बरामद साढे २१ किलो सुन विमानस्थलबाटै भित्रिएको आशंका
सारांश

काठमाडौंको बूढानीलकण्ठबाट बरामद भएको २१ किलो ७५०.६८ ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको हुन सक्ने आशंका प्रहर...

काठमाडौंको बूढानीलकण्ठबाट बरामद भएको २१ किलो ७५०.६८ ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकले भाडामा लिएको कार ११ दिनको अवधिमा पाँच पटकसम्म विमानस्थलको पार्किङ क्षेत्रमा पुगेको खुलेपछि यस्तो आशंका गरिएको हो।

अनुसन्धान अधिकृतका अनुसार चिनियाँ नागरिक हान फिईले असोज ११ देखि २५ गतेसम्म दैनिक ८ हजार रुपैयाँ तिर्ने गरी कार भाडामा लिएका थिए। काठमाडौं ओर्लिएलगत्तै भाडामा लिइएको उक्त कार सुन ओसारपसारकै लागि प्रयोग भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

असोज २२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मार्दा उक्त कारमा दुई–दुई किलोका सुनका दुई बिस्कुट फेला परेका थिए। ती बिस्कुट चालक सिटनजिकैको बक्समा कागजले बेरेर राखिएको अवस्थामा भेटिएका थिए।

सुनसहित पक्राउ परेका तीनै जना चिनियाँ नागरिक हङकङ हुँदै काठमाडौं आएको अध्यागमन अभिलेखमा देखिएको छ। चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन अहिले प्रहरी हिरासतमा छन्। उनीहरूमध्ये दुई जना असोज ११ गते र एक जना असोज १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए।

प्रहरीका अनुसार काठमाडौं आएपछि उनीहरू पटक–पटक विमानस्थल पुगेको देखिएको छ। सुनलाई लचिलो आकारमा बनाएर हवाई मार्गबाट ल्याइएको हुन सक्ने प्रहरीको विश्लेषण छ। यद्यपि, सुन विमानस्थलबाटै भित्रिएको तथ्यलाई थप पुष्टि गर्ने काम भइरहेको अनुसन्धान अधिकृतले बताएका छन्।

बूढानीलकण्ठको माथिल्लो भंगालस्थित साढे दुईतले घरमा छापा मार्दा उक्त सुन बरामद भएको थियो। चिनियाँ नागरिकले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी घर लिएको र चार महिनाको भाडासमेत अग्रिम बुझाएको पाइएको छ।

बरामद २१ किलो ७५०.६८ ग्राम सुनको तत्कालीन बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको बताइएको छ। घटनाबारे विमानस्थलस्थित भन्सार कार्यालयले पनि थप अनुसन्धान गरिरहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार